हेटौँडा, चैत ३० गते । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा निर्माण गरेको ‘सांस्कृतिक सम्पदा तथा मुद्रा संग्रालय’ भवन हस्तान्तरण गरिएको छ ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नवनिर्मित भवनको समुद्घाटन एवं संरक्षण र सञ्चालनको जिम्मासहित भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत र वडाध्यक्ष स्टालिन श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त भवन तीन करोड २२ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्र सुबेदी, पर्यटन विकास आयोजना एकाइ कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईंलगायतको उपस्थिति रहेको थियो।
यस्तै प्रसिद्ध पर्यटकीय नगरी जिरीमा दुई करोड ६० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न रिक्रियसन हल र हिल स्टेशन समुद्घघाटनसँगै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरणको क्रममा यसबाट प्राप्त हुने आम्दानी स्थानीय सरकारलाई ७० प्रतिशत र प्रदेश सरकारलाई ३० प्रतिशत बाँडफाट गर्ने गरी सम्झौता गरिएको मन्त्रालयका सचिव सुवेदीले बताउनुभयो ।




