हेटौँडा, चैत ३० गते । हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको राप्ती खोला किनारमा रहेको शवदाहस्थल पुनः सञ्चालनमा आएको छ ।
लामो समयदेखि हेटौँडा उपमहानगरपालिका १० स्थित शवदाह स्थलको उपकरणमा प्रयोग हुने गरेको सामग्री नपाउँदा बन्द रहेको मेसिन सोमबारबाट सञ्चालनमा आएको हो ।
विदेशबाट उपकरणमा लाग्ने सामग्री ल्याउनु पर्ने भएकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याउन ढिलाई भएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

करिब सात महिनादेखि बन्द रहेको शव दाहस्थलमा रहेको मेसिनको माथिल्लो भित्री भागमा लाग्ने पाता फेरेसँगै सञ्चालन आएको उपमहानगरपालिकाका वातातावरण शाखाका अधिकृत छैटौँ हिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मेसिन मर्मत नहुँदा हेटौँडा–९ त्रिवेणीधाममा रहेको शवदाह स्थलमा शव जलाउन लैजानु र कतिपयले राप्ती खोला बगरमा शव जलाउनुपर्ने बाध्यता रहेको थियो । खुला रुपमा शव जलाउँदा वातावरण प्रदुषित बन्न थालेपछि उपमहानगरले शव जलाउन दाउराको कम खपत हुन, जलाउँदा निस्कने धुँवालाई टावरमार्फत माथिल्लो भागमा फ्याक्ने र शव जनलाउन सहज हुने गरी मेसिनको व्यवस्थापन गरेको थियो ।
तर उक्त मेसिन बिग्रेको लामो समयसम्म मर्मत नगरेसँगै उपमहानगरको सार्वजनिक रुपमा नागरिकस्तरमा विरोध भएपछि उपमहानगरले मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो ।




