जनताप्रति उत्तरदायी भएर कार्य गर्ने स्थानीय तहमा भक्तपुर अग्रणी

लोकप्रिय

हेटौँडा, वैशाख ४ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताप्रति उत्तरदायी भएर कार्य गर्ने स्थानीय तहमा भक्तपुर नगरपालिका अग्रणी रहेको बताउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज भक्तपुर नगरपालिकाको स्थलगत अवलोकनका क्रममा यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभा भवनको स्थलगत अवलोकन गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपलिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमाआफ्नै पहलमा गरिरहेको कार्य प्रसंशा गर्दै
स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाले प्राचीन सभ्यतासँग जोडेर यहाँको मौलिक भाषा, संस्कृति र सम्पदा संरक्षण गर्दै आएकोमा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो बागमती प्रदेशका ११९ वटा स्थानीय तहमध्ये जनताप्रति उत्तरदायी भएर कार्य गर्नेमा भक्तपुर नगरपालिका अग्रणी रहेको छ ।
उहाँले भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको लागि प्रदेशबाट हुनसक्ने सहयोग गरिने भन्दै भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरूले गरिबमुखी, आयमुखी र जिम्मेवारीपूर्वक सेवा गरिरहेको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल र ख्वप तिलगंगा आँखा अस्पतालको सेवा प्रवाह र सम्पदा संरक्षणबारे गराउनुभएको थियो ।

नगरप्रमुख प्रजापतिले ख्वप अस्पताल ११ घण्टा ओपिडी सेवा सहित ३६५ दिन खुल्ने एकमात्र अस्पताल भएको भन्दै एमआरआई मेशिनको अभावमा सेवाग्राहीहरूलाई उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।
बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिकाले कला, संस्कृति र सम्पदा संरक्षणमा जोड दिँदै आएको भन्दै नगरवासीको शिक्षा र स्वास्थ्य प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले जनताको हितको निम्ति काम गरिरहेकोले प्रदेश सरकारबाट आगामी वार्षिक बजेटमा भक्तपुर नगरपालिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

 

ताजा समाचार

Related Articles