आगलागीबाट घर जलेर नष्ट भएको परिवारलाई नयाँ घर

लोकप्रिय

हेटौँडा, वैशाख ६ गते । श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले राक्सिराङ गाउँपालिकाका वडा नम्बर३,स्थित लावतीको एक गरिब तथा विपन्न निशा माया चेपाङलाई नयाँ घर बनाई दिएको छ । गत महिनाको चैत ४ गते राक्सिराङ गाउँपालिकाका वडा ३ स्थितलावतीकी निशा माया चेपाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
गत शुक्रबार श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानसहितको टोली हेटौंडाबाट राक्सिराङमा पुगेर एक विशेष समारोहकाबीच निशा माया चेपाङ, श्रीमान् रमेश कार्की र छोरा जोशेप कार्कीलाई घर हस्तान्तरण गरेको हो । श्रम संस्कृति पार्टीका प्रतिनिधिले घर जलेर नष्ट भएको एक महिनामै आर्थिक सहयोग संकलन गरेर र श्रमदानबाट घर निर्माण कार्य सम्पन्न गरेर चेपाङको परिवारलाई हस्तान्तरण गरेको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा तथा पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानको सभाध्यक्षमा घरको चाबी हस्तान्तरण गरिएको थियो । करिब १० धुरको एेलानी जग्गामा श्रमदानबाट दुई कोठाको घर निर्माण गरेको जिल्ला अध्यक्ष लामा सिन्तानले बताउनुभयो । चेपाङको घरमा आगलागी हुँदा साढे छ लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । घर निर्णाणका लागि करिब आठ लाख रुपियाँ बजेट खर्च हुने भएपनि पार्टीका कार्यकताको श्रमदानबाट र विभिन्न व्यक्तित्व तथा कम्पनीको सहयोगबाट सहयोगबाट दुई लाख पाँच हजार १६६ रुपियाँको लागतमा निर्माण भएको जिल्ला अध्यक्ष सिङ्तानले बताउनुभयो । यसअघि सो पार्टीका कार्यकर्ताले घर जलेको खबर पाए लगतै १२ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा कपड सहयोग गरेको थियो ।
घर हस्तान्तरणपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले श्रम संस्कृति पार्टीले पीडित परिवारको पीर मर्कालाई बुझेर श्रमदानबाट राक्सिराङ्ग गाउँपालिबाटै समाजिक उत्तरदायित्व अन्तर्गतको कामको सुरुवात गरेकोमा खुशी व्यक्त गर्नभयो ।
घर निर्माण भएपनि घरमा राम्रो शौचालय नभएको कारणले गाउँपालिकाबाट प्यान टायल लगायत सामाग्री सौजन गरेर शौचालय निर्माण गर्ने कामका लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य मन्दिरा मोक्तानले पार्टी जिल्ला कमिटीको नेतृत्वमा श्रमदानबाट र आर्थिक सहयोग संकलन गरेर घरमा आगोलागेर नष्ट भएको एक महिनामै निर्माण गरेर हस्तान्तरण गर्न सफल भएको बताउनुभयो ।
घर हस्तान्तरण कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा ३ का वडाध्यक्ष उत्तम लामा, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुन्दर लामा, पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तान, युवा नेता निश्चल थिङ,पूर्व वडाध्यक्ष बाबुलाल थिङलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles