मकवानपुर, वैशाख ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार पारदर्शी र जनताप्रति जवाफदेही भएर काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकारका क्षतिग्रस्त भौतिक संरचनाको बृहत मर्मत तथा पुनर्निर्माण क्रममा पुनर्निर्माण सम्पन्न भवनको उद्घाटनसँगै सोमबार मुख्यमन्त्री बानियाँले यस्तो बताउनुभएको हो ।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा मर्मत, सम्भार र पुनर्निर्माण सम्पन्न भएसँगै ती भवनहरू मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाइएका बागमती प्रदेश सरकारका भवनहरूको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन थालिएको छ । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले जनताप्रति पारदर्शी र जवाफदेही भएर काम गरिरहेको बताउनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले क्षतिग्रस्त भवनको मर्मत र पुनर्निर्माणका क्रममा भवनको संरचनात्मक सुरक्षालाई विशेष प्राथमिकतामा राखेका भन्दै आगजनीका कारण भवनका संरचना कमजोर बनेकाले विज्ञ र स्ट्रक्चरल इन्जिनियरहरूको टोलीबाट अध्ययन गराई मर्मत र पुनर्निर्माण गरिएको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्ठाले जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशले एक अर्ब रुपियाँभन्दा बढीको क्षति भएको भन्दै विषम अवस्थामा पनि सार्वजनिक खरिद ऐन अनुसार नै बोलपत्र आह्वान गरेर काम गरिएको बताउनुभयो ।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख भूपेन्द्र यादवले सोम क्षतिग्रस्त संरचनाको मर्मत एवं पुनर्निर्माणमा तीन करोड ९५ लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिएको जानकारी दिनुभयो । पाँच वटा मन्त्रालय रहेको भवन भने मर्मत तथा पुनर्निर्माणका लागि एक करोड २८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर काम गरिएको थियो । कार्यालयले ठेक्का आह्वान गरी प्रदेशका पाँच वटा मन्त्रालय रहेको हेटौँडा उपमहानगरपालिका १ स्थित भवनसहित प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रमुख सचिवको निवास गरी पाँच वटा भवनको मर्मत तथा पुनर्निर्माण गरेको कार्यक्रममा जानकारी गराइएको छ ।




