हेटौँडा, वैशाख १४ गते । मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा करदाता सेवा सुरु गरिएको छ । सोमबार बकैया गाउँपालिकामा करदाता सेवा सुरु गरिएसँगै मकवानपुरमा करदाता सेवा प्रदान गर्ने स्थानीय तहको सङ्ख्या तीन वटा पुगेको हो । यसअघि मनहरी र बागमती गाउँपालिकाले यस्तो सेवा सुरु गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकामा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी तथा अन्य करदाता सेवा सुरु गरिएको जानकारी दिनुभयो । सो अवसरमा छ जनलाई प्यान कार्ड वितरण गरिएको थियो । आन्तरिक राजस्व कार्यालय हेटौँडा र ती पालिकाहरुबिच यसअघि करदाता सेवा सुरु गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । गाउँपालिकाबाटै सेवा सुरु भएसँगै करदातालाई समयको बचत हुनुका साथै छिट्टो छरितो सेवा प्राप्त हुने गाउँपालिका अध्यक्ष लामिछाने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्न सुरु गर्ने निर्णयअनुसार मकवानपुर जिल्लामा स्थानीय तहमार्फत सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै अब गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक स्थायी लेखा (प्यान) नम्बर जारी हुने छ । व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण सम्बन्धी कार्य पनि हुनेछ । यस्तै आयकर दर्ता तथा स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधित कार्य पनि गाउँपालिका कार्यालयबाटै हुने जनाइएको छ । करदाता सेवा प्रदान गर्न सेवा सुरु गरेका गाउँपालिकाका तीन जना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापनसमेत गरेको छ ।




