निर्माण व्यवसायीको समस्या समाधानमा सकारात्मक छौँः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, वैशाख १४ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निजीले नै राज्यलाई राजस्व तिर्ने र चल्ने भएकोले केही लचिलो भएर काम गर्नुपर्ने भन्दै निजीक्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिसँगै निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माणको काम प्रभावित भन्दै मूल्य समायोजन गर्न माग गर्दै बुझएको ज्ञापनपत्र सोमबार मुख्यमन्त्री कार्यालयमा बुझ्दै यस्तो बताउनुभएको हो ।  निर्माण व्यवसायीहरुले निर्माण आयोजनामा भएको मूल्यवृद्धिअनुसार मूल्य समायोजन गर्न माग गरेका छन् । निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास नहुने उहाँको भनाई छ ।

निर्माण आयोजनामा भएको मूल्यवृद्धिअनुसार मूल्य समायोजन गर्न माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिको समस्याबाट पीडित निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन सरकारसँग माग गरेको छ ।  ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीलाई निर्माण आयोजनाहरुको काममा गुणस्तरीयता र समयमा सम्पन्न गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले प्रदेशभित्रका साना ठुला आयोजनाहरुको समय थप गर्ने वा कुनै उपायबाट आयोजनाको मूल्य वृद्धिको आधार मूल्यमा समायोजन गर्ने भन्ने कानुनी उपचार र विगतका नजिरलाई हेरेर बागमती प्रदेश सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, प्रदेश सरकारले विगतमा भएको सङ्घीय सरकारका नजिरलाई हेरेर सङ्घीय र स्थानीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार समन्वय गरेर निर्माण व्यवसायीलाई पर्न गएको समस्या समाधानका लागि सकारात्मक पहल गरिने छ ।

उहाँले सार्वजनिक खरिद ऐनमा परिमार्जन गर्ने विषय आएको छ, टेण्डर जति पनि घटेर हाल्ने र समयमा काम नगर्ने प्रवृत्तिले व्यवसायीको पनि अवस्था दिनप्रति दिन खस्किँदो र समयमा काम नगर्दा जनगुनासो पनि बढेको बताउनुभयो । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायी महासङ्घका बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिलाई पूर्वाधार क्षेत्रमा आएको ’सुनामी’ को संज्ञा दिँदै निर्माण सामग्रीहरूको अभावका कारण निर्माण उद्योग ठप्प हुने स्थिति रहेकाले ’म्याद थप’ अपरिहार्य भएको बताउनुभयो ।

अध्यक्ष तामाङले भौतिक पूर्वाधार क्षेत्रमा आएको ’सुनामी’ का कारण मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु भइसकेको भन्दै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप निर्देशिका –२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन सरकारसँग माग गर्नुभयो । यस्तै निर्माण व्यवसायी सङ्घ मकवानपुरमा अध्यक्ष बालगोपाल कंडेलले इन्धनजन्य सामाग्रीहरूसहित निर्माण सामाग्रीहरु बिटुमिन, सिमेण्ट, डण्डीलगायतका निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्याधिक मूल्यवृद्धि र बजारमा ती सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोले तत्काल समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो।

ताजा समाचार

Related Articles