हेटौँडा, वैशाख १८ गते मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिमराको नव जनजागृती सेमिफाइनल प्रवेश गरेको छ। बागमती ४ स्थित सहिद स्मृति रंगशालामा शुक्रबार भएको खेलमा जनजागृतीले आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो।
निर्धारित खेल समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। आर्मीका लागि कप्तान भरत खवासले खेलको ८ औं मिनेटमा र जनजातृतीका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गर्नुभयो।

नव जनजागृतीका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो।
आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए ।आर्मीका विमल पाण्डे र सुजन खत्रीका प्रहार सेभ गरेका सिमराका गोलरक्षक युनेश चौधरीले रोक्नुभयो । प्लेयर अफ दि म्याच चौधरी घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् ।




