हेटौँडा, वैशाख १९ गते । सरकारले रोल्पाको थवाङ गाउँपालिका–१ स्थित सल्यापमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
२० जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन दिनपछि शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको भन्दै दुःख व्यक्त गरेको हो ।
बिहीबार दुर्घटना भएकोमा तीन दिनपछि मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह–सचिव हेमराज अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।

‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २ः५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस हृदयविदार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो ।’
गत बिहीबार भएको जिप दुुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ ।
दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ ।




