मकवानपुर, वैशाख २० गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सर्लाहीको बागमती युथ क्लब विजयीभएको छ ।
बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा भएको खेलमा बागमती युथले चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई २–१ गोलले हराएको हो।

बागमतीका लागि अनिष महर्जनले खेलको २८ मिनेटमा र कप्तान आयुष मगरले ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । यस्तै चर्च ब्वाइजका लागि सुशन मगरले ११ औँ मिनेटमा गोल गर्नुभयो ।
प्लेयर अफ दि म्याच बागमतीका महर्जन घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।

बागमती युथले अब सेमिफाइनलमा फ्रेन्डस क्लब, ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँबिचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपियाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।




