मकवानपुर, वैशाख २० गते । मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा थाहा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । थाहा नगरपालिकाले सांस्कृतिक पर्व मेला संरक्षणका लागि जात्रा पर्वका अवसरमा बिदा दिँदै आएको छ ।

यसैबिच थाहा नगरपालिका ६ स्थित वज्रवाराहीमा वज्रवाराही (अजिमा) जात्रा सुरु भएको छ । प्रत्येक तीन वर्षमा हुने जात्रा शनिबारबाट सुरुभएको हो । चण्डीपुर्णिमा अर्थात् वैशाख पुर्णिमापछि लाग्ने जात्रा तीन दिनसम्म मनाइन्छ । स्थानीय प्रमोद जोशीले जात्राको पहिलो दिन शनिबार गाउँबाट देवताहरु ल्याएर वज्रबाराही अवस्थित पिठमा राख्ने परम्परा अनुसार पिठमा देवताहरु ल्याइएको जानकारी दिनुभयो । जात्राको दोस्रो दिन अर्थात जात्राको मुख्य दिन प्रत्येक गाउँका घरघरबाट बलीसहित पूजा सामाग्री ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाउँबाट ल्याइएका देवताहरु तेस्रो दिन फर्काइने प्रचलन रहेको छ । तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ ।

काठमाडौँ उपत्यकालाई रक्षा गर्ने चार बाराहीमध्ये एक ललितपुरस्थित वज्रबाराही भएको र मकवानपुरको थाहा नगरस्थित वज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ । यो जात्रा वैशाख पूर्णिमापछिको शनिबार पारेर सुरु गर्ने गरिन्छ । जात्राको व्यवस्थापन थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले गरिरहेको छ । जात्रा हेर्न थाहा नगरका आसपासका पालिकासँगै काठमाडौँ उपत्यकाबाटसमेत आउने गर्छन । गुठीको नाममा रहेको २०४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी सञ्चालन हुँदै आएको छ । जात्रामा आफ्नो भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागिता जनाउने गरिन्छ । जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आइतबारदेखि बिहीबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्ने हुन्छ ।




