हेटौँडा, वैशाख २३ गते । मकवानपुरको मनहरी गाउँपालिकामा नागरिकको घरदैलोमा पुगेर राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिनेभएको छ ।
नेपाल सरकारको सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको हो । मनहरीका बासिन्दालाई घर नजिकै सेवा प्रदान गर्ने उद्देश्यले वैशाख २५ गते शुक्रबार गाउँपालिका कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्रको आवेदन दिने मनहरी स्थायीबासी र हालसम्म राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी वितरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, सेवा वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको हो । सुवेदीका अनुसार गाउँपालिकाको लामिटार ब्लकबाट शुक्रबार बिहान ९ बजेदेखि जनप्रतिनिधिका साथै मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेछ ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत आशिष मल्लले राष्ट्रिय परिचयपत्र र राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँबाट वितरण गर्न थालिएको बताउनुभयो । गाउँबाटै राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गर्ने सूचना वडा कार्यालयमार्फत टोलटोलमा पु¥याइएको छ । साथै प्रत्यक व्यक्तिलाई फोनमार्फत गाउँपालिकामा राहदानी लिन आउन सूचित गरिएको छ ।
पछिल्लो पटक मनहरीका ८८ जनाले राहदानीका लागि आवेदन दिएकोमा उनीहरु सबैको प्राप्त राहदानी वितरण गरिने भएको छ ।




