हेटौँडा, वैशाख २३ गते । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते बागमती प्रदेश भर सार्वजनिक बिदा दिनेभएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा बिहीबारका दिन सार्वजनिक बिदा गरेको हो ।
प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको दिन वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको मन्त्रीपरिषद्ले यसअघि निर्णय गरेको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका अधिकृत नवौँ पदम ओझाले गत चैत २३ गते बागमती प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।

प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० गत वर्ष वैशाख २४ गतेबाट कार्यान्वयनमा ल्याइएसँगै २०८१ सालबाट प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिन थालेको हो ।




