भाषाको संरक्षण साझा जिम्मेवारीः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, वैशाख २४ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषाहरूको संरक्षण, प्रवद्र्धन र विकास गर्नु हामी सबैको साझा जिम्मेवारीभएको बताउनुभएको छ ।
उहाँले बागमती प्रदेशमा नेपाली, तामाङ, नेपाल भाषालगायत थुप्रै मातृभाषाहरूले हाम्रो सामाजिक विविधता र समृद्ध परम्परालाई जीवन्त राख्दै आएको भन्दै संविधानले नै नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा अङ्गीकार गर्दै भाषा र संस्कृतिको संरक्षण गर्ने हक सुनिश्चित गरेको बताउनुभयो ।

“प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०“ कार्यान्वयनको ऐतिहासिक उपलब्धिको अवसरमा वैशाख २४ गते मनाउँदै आएको भाषा दिवसको बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस ऐतिहासिक पहलबाट लाभान्वित हुने विशेष गरी तामाङ र नेवार समुदाय लगायत सम्पूर्ण प्रदेशवासीले आफ्नै मातृभाषामा सरकारी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित भएको बताउनुभयो ।
उहाँले मातृभाषामा सरकारी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित भएसँगै नागरिक र सरकारबिचको सम्बन्धलाई थप सुमधुर, जनमुखी र सेवामुखी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

भाषा दिवसले हामी सबैलाई भाषिक विविधताको सम्मान गर्दै सामाजिक न्याय र सांस्कृतिक एकताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, भाषा दिवसको अवसरमा यस प्रदेशमा बसोबास गर्नुहुने, विशेष गरी तामाङ र नेपाल भाषा (नेवारी) बोल्ने जनसमुदायलगायत सम्पूर्ण भाषाभाषी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
संवैधानिक मर्म र भावनालाई आत्मसात् गर्दै बागमती प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको भन्दै प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा ऐन जारी गरी बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढवा दिन निरन्तर प्रयत्नशील रहँदै आएको शुभकामना सन्देशमा भनिएको छ ।
बागमती प्रदेश सरकारले भाषा दिवसका अवसरमा वैशाख २४ गते प्रदेशभरि सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

ताजा समाचार

Related Articles