खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा वृहत शैक्षिक महोत्सव हुनेभएको छ । महोत्सव जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय भाषा र संस्कृति झल्कने नित्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगीता हुने हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले बताउनुभयो । “२० वर्षपछिको हेटौँडा“ विषयक चित्रकला प्रतियोगितामा विद्यार्थीले २० वर्षपछिको हेटौँडा सहरको परिकल्पनासहित चित्रकलामा उतार्ने छन् ।

विद्यार्थीबिचको स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याउनु महोत्सवको उद्देश्य रहेको वडाध्यक्ष सिग्देलको भनाई छ । वडाध्यक्ष सिग्देलले महोत्सवमा हेटौँडा नगरभित्रका विद्यालय र विद्यार्थीको सहभागिताका लागि आग्रह गरिएको बताउनुभयो । वडा कार्यालयले यसअघि तीन पटक महोत्सव सम्पन्न गरिसकेको छ । नृत्य प्रतियोगितामा प्रथम २० हजार द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई पाँच हजार, विज्ञान विषयको प्रदर्शनीमा प्रथम ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वनालाई पाँच हजार, चित्रकला प्रतियोगितामा प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको वडा कार्यालयको सचिव रामप्रसाद गुरागाईले जानकारी दिनुभयो ।




