खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते । सामान्य वर्षामा समेत जलमग्न हुने गरेको हेटौँडा उपमहानगरपालिका ४ स्थित भैरवरोडको समस्या समाधानका लागि प्रयास शुरू गरिएको छ । हेटौँडा–४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देल र ५ नं. वडाध्यक्ष सुशील घिमिरेले प्राविधिक टोलीसहित स्थलगत अनुगमन गरी भैरवरोडमा देखिएको पानी जम्ने र ढलको निकासको समस्याका बारे अध्ययन गरेको छ ।
नगर प्रमुख मीनाकुमारी लामासँग ४ नं. वडाध्यक्ष सिग्देलले समस्या समाधानबारे सल्लाह अनुसार टोलीले सो क्षेत्रको अध्ययन गरी समस्या पहिचान गरिएको हो ।

टोलीमा उपमहानगरका योजना प्रमुख ईन्जिनियर सुवोध थापा र वातावरण ईन्जिनियर चन्दा खड्कासहित स्थानीयको सहभागीता रहेको थियो । पानी सडकमा खोला जस्तै बग्नु भूगिगत ढलमा देखिएको समस्या र जमेको पानी पास हुने ठाउँ नभएकोले आएको सिग्देलले जानकारी दिनुभयो । समस्या पहिचानपछि नगरप्रमुख लामासँग समन्वय गरिएको र समस्या समाधानको लागि प्रक्रिया तत्काल अगाडि बढाईने भएको छ ।
उता वडाध्यक्ष घिमिरेले भैरवरोडबाट बग्ने पानीले भैरवरोडसँग जोडिएको ५ नं. वडाको विभिन्न क्षेत्र ढुवान पर्ने गरेकोले यसको समाधानको लागि समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।




