प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ: सभामुख अर्याल

लोकप्रिय

काठमाडौँ, जेठ १२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गर्नुभएको हो । बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहनुभएका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
“सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ”, उहाँले भन्नुभयो ।
सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् । प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले विरोध सुरु गरेका हुन् । विपक्षी दलहरुले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सरकारबाट प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको अरोप लगाउँदै प्रतिपक्षको आवाज सुनेर साझा राष्ट्रिय ‘एजेन्डा’ स्थापित गर्न सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीको अवरोधका बीच सदनको कामकारबाही अघि बढाउनु उचित नहुने बताउनुभयो ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुश्बु ओलीले लोकतन्त्रमा संवाद नै पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न अनुरोध गर्नुभयो ।

ताजा समाचार

Related Articles