स्तरोन्नतिका क्रममा चित्लाङ–थानकोट सडक १४ दिन बन्द हुने

लोकप्रिय

हेटौँडा, जेठ १२ गते । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट मार्ग स्तरोन्नतिका क्रममा सवारी आवागमन बन्द गरिनेभएको छ ।
चित्लाङ–थानकोट मार्ग (गणेशमान मार्ग) निर्माण सुधारका क्रममा यही जेठ १७ गतेदेखि ३० गतेसम्म १४ सम्म सवारी साधनको आवागमन बन्द गरिनेभएको हो ।
निर्माण कम्पनीबाट सडक ढलान, कालोपत्रे, टेवा पर्खाल निर्माणलगायतका निर्माण कार्य गर्न सवारी साधनको आवागमन बन्द गर्न लागेको सडक डिभिजन काठमाडौँले जनाएको छ ।

थानकोट–चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेको र उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधनहरु आवतजावत हुँदा निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकोले सवारी आवागमन बन्द गरेर काम गर्न लागेको सडक डिभिजन काठमाडौँका इन्जिनियर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालोपत्रे र ढलान गरी करिब साढे सात किमि सडक खण्डमा काम हुने छ ।
टेवा पर्खाल निर्माण, कालोपत्रे र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौँतर्फको खण्डमा काम हुने छ ।
निर्माण कम्पनीमार्फत तीन–चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने छ ।
बिटुमिन हाल बजारमा अभाव रहेको र उपलब्ध भएमा कालोपत्रेसमेत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

यस्तै ढलान र कालोपत्रको कामको अर्को ठेक्का रहेकामा अलकत्राकै अभावमा सुरु हुन नसकेको र ठेक्का सम्झौता अवधि आगामी मङ्सिरसम्म रहेकोले अलकत्रा उपलब्ध भएसँगै काम सुरु गरिने उहाँले बताउनुभयो ।
सडक स्तरोन्नतिका क्रममा काठमाडौँको पानीघट्टदेखि मकवानपुरको चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा सडक बन्द हुने भएको छ । सो अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रगिरी नगरपालिकालाई सडक डिभिजन काठमाडौँले आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles