काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय सभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले पटकपटक सदनको कारबाही अगाडि बढाउन आग्रह गर्नुभएको थियो । उहाँले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो । सांसदहरूले असहमति प्रकट गर्नुभयो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।

त्यसैगरी, अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम थियो ।




