प्रतिनिधि सभाको बैठक स्थगित

लोकप्रिय

काठमाडौँ , जेठ २५ गते । प्रतिनिधिसभा बैठक भोली सम्मका लागि स्थगित भएको छ । प्रतिपक्षीको अवरोधका कारण आजै  १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी भोलि सम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकोले भोली दिनको १ बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आइरहेका छन् । यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए । बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध शुरु गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो । बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लङ्घन गर्दै अभिव्यक्ति दिएको भन्दै भुल सुधार गर्नुपर्ने र क्षमा माग्नै पर्ने अडान राख्नुभयो । एमाले संसदीय दलका उपनेता अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आर्थिक विधेयकमा अर्थ मन्त्रालयले गरेको करको दर हेरफेरको विषय सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको १६ पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हट्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसद्प्रति उत्तरदायी बनेर जवाफ दिनु माग गर्नुभयो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउन पर्ने माग गर्दै सिमानामा नेपाली सेना खटाउने र तैनाथ राख्नुपर्ने बताउनुभयो । प्रतिनिधि सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने छ ।

ताजा समाचार

Related Articles