धनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद पुनर्गठन भएको छ । नेपाली कांग्रेसले आफ्नो पार्टीका तीन मन्त्री र दुई राज्यमन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख नजिर मियाँले आज साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । नवनियुक्त मन्त्री विक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । यसैगरी, मन्त्री मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । बेलबहादुर रानामगरले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

यसैगरी, जुना दानीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको रुपमा सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

नेपाली कांग्रेसले तत्कालीन आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टसहित राज्यमन्त्रीहरु सरस्वती खड्का एवम् प्रकाशबहादुर बमलाई फिर्ता बोलाएपछि मन्त्रीमण्डल पुनर्गठन भएको हो ।




