प्रदेशले अधिकार नपाउँदा काम गर्न समस्याः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, जेठ २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सविधानमा व्यवस्था गरिएको प्रदेश सरकारको अधिकारको प्रयोग गर्न नपाउँदा प्रभावकारी कार्यसम्पादनमा समस्या भएको बताउनुभएको छ ।
अधिकार नपाउँदा प्रदेश सरकारहरुलाई अप्ठ्यारो भएको भन्दै उहाँले यसले प्रदेश सरकारलाई आफ्ना नीति र कार्यक्रम कार्यान्वयमा समस्या भएको बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजना
एवं बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको संयोजनमा बुधबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा कार्यक्रममा बोल्दै उहाँले सीमित स्रोत र साधनका बिच प्रहरी सङ्गठनले काम गर्दै आएको बताउनुभयो ।
प्रहरीलाई अपराध अनुसन्धानमा दक्ष र प्रभावकारी बनाउन प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उहाँको भनाई छ ।
डिएनए परीक्षणका लागि अहिले सात वर्ष कुनुपर्ने अवस्था छ, प्रहरी सङ्गठनलाई प्रदेश सरकार मातहत रहने गरी अधिकार दिएको भए प्रहरी प्रविधिमैत्री बनाउन लगानी गर्न सकिन्थ्यो उहाँले भन्नुभयो, तर खरिद प्रक्रियालगायतका कारणले प्रदेश सरकारले प्रहरीका लागि भौतिक पूर्वाधार र प्रविधिमैत्री बनाउन काम गर्न नसक्ने अवस्था छ ।
प्रहरीप्रति जनविश्वास बढाउनु आवश्यक छ र अपराध अनुसन्धानलाई प्रभावकारी बनाइनुपर्ने उहाँको भनाई छ ।
अपराधी छुट्दा पुनः कानुनको दायरामा ल्याउन सकिन्छ तर निर्दोषलाई अपराधी करार गरियो भने जीवनमा असहज, अप्ठ्यारो र कार्यसम्पादनमा नकारात्मक प्रभावसँगै अन्याय हुन्छ उहाँले स्पष्ट पार्नुभयो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले प्रदेश सरकारले प्रहरी सङ्गठनलाई सुविधासम्पन्न बनाउन सहयोग गर्दै आएको र निरन्तरता पाउने भन्दै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले प्रविधिको विकासले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा परिवर्तन ल्याएको भन्दै प्रविधिको दुप्रयोगले अपराध बढ्दै गएको बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनुसन्धानको गुणस्तरले न्यायप्रतिको विश्वसनियता कायम राख्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव उपरीक्षक दीपक रेग्मी, उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता पुजा खत्री, नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरलगायतले पछिल्लो समय अपराध बढेको भन्दै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles