हेटौँडा, जेठ ३० गते । मकवानपुरको कैलाश गाउँपालिका ६ स्थित व्यास माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा कृतिका सुवेदी वक्तृत्वकला प्रतियोगितामा प्रथम भइकी छिन् । शुक्रबार गाउँपालिकामा आयोजित स्वास्थ्य शाखाको विद्यालय पोषण शिक्षा कार्यक्रम अन्तर्गत “स्वच्छ पोषण सवल जीवनको आधार” विषयक वक्तृत्वकलामा सुवेदी प्रथम हुनुभएको हो ।

त्यस्तै, कैलाश ९ मा रहेको कालिका माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिक्षा मुक्तान द्वितीय र कैलाश २ स्थित कमलादेवी माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र विश्वास गुरुङ तृतीय हुनुभयो ।
विजयी भएका प्रतिस्पर्धीहरुलाई नगद, विद्यालय झोला सहित स्टेशनरी सामाग्री प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताउनुभयो । प्रतियोगितामा माध्यामिक तहका १८ जना छात्राछात्रको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।

विजयी तथा उपविजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले वक्तृत्वकलाले विद्यार्थीहरुमा बोल्ने कलाको विकाससँगै आत्मविश्वास बढ्ने बताउनुभयो । विद्यार्थीहरुको वाककलासँगै स्वास्थ्य, शिक्षा, सामाजिक विषयवस्तुमा थप जानकारी हुने भएकाले यस्ता कार्यक्रमहरु गरिदैँ आएको उहाँको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री, शिक्षा शाखा प्रमुख समीर जोशी, स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतम, प्रशासन शाखा प्रमुख रामचन्द्र शिवाकोटी, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।




