देश बलियो हुन सरकारका सबै अङ्ग बलियो हुनैपर्छ

लोकप्रिय

काठमाडौँ, जेठ ३० गते । मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उहाँहरूलाई नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभयो । सम्मानित हुनुहुनेमा वरिष्ठ साहित्यकार यादव खरेल (पद्य), वरिष्ठ कथाकार भाउपन्थी (गद्य) र मधुपर्क प्रतिभाबाट डा. गीता त्रिपाठी हुनुहुन्छ । उहाँहरुलाई जनही नगद ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मानित गरिएको छ । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कले हरेक वर्ष सम्मान प्रदान गर्दैआएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको साहित्य, संस्कृति र सङ्गीत बलियो भयो भने अन्य पक्ष पनि बलियो हुने बताउनुभयो । सम्मान कार्यक्रममा उहाँले गोरखापत्र संस्थानले भाषा साहित्य क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउँदै यसको समृद्धिका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो । “सरकार त एउटा व्यवस्थापक मात्र हो, गोरखापत्र, मधुपर्क र यसका प्रकाशनको निरन्तरताका लागि सबैको साथ र सहयोगको खाँचो पर्छ” उहाँले भन्नुभयो, “सूचना तथा सञ्चार मन्त्रालय मातहतका सबै अङ्गलाई बलियो बनाउने गरी सरकारले काम गरिरहेको छ, देश बलियो हुन सरकारका सबै अङ्ग बलियो हुनैपर्छ ।” आफू साहित्यिक विद्यार्थी भएको बताउँदै उहाँले साहित्य र सङ्गीतले आफूलाई शक्ति प्रदान गरिरहेको चर्चा गर्नुभयो । मधुपर्कले हरेक वर्ष वरिष्ठ साहित्यकारहरूलाई सम्मानित गर्दैआएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभयो ।

वरिष्ठ साहित्यकार यादव खरेलले गोरखापत्र संस्थानको साहित्यिक मासिक मधुपर्कको निरन्तरताले साहित्यकारलाई उत्साहित बनाएको भन्दै यसको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रविधिले फड्को मार्दा छापा पत्रिका सङ्कटमा परेको बताउनुभयो । पत्रपत्रिकाको निरन्तरताका लागि राज्यले लगानी गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । आफू ८४ वर्षमा उमेरमा टेकेको भन्दै बजारमा सम्मान र पुरस्कारको विकृति रहे पनि संस्थाको पृष्ठभूमि हेरेर सम्मान लिनुपर्ने अवस्था आएको चर्चा गर्नुभयो । वरिष्ठ कथाकार भाउपन्थीले नेपाली साहित्यिक पत्रपत्रिकाको प्रकाशनका लागि राज्यले लगानी गर्न आवश्यक रहेको सुझाव दिनुभयो । साहित्यिक पत्रिकाहरू अवसानको बाटोमा रहेको भन्दै उहाँले भाषा साहित्य जोगाउन पत्रपत्रिका जोगिन आवश्यक रहेको बताउनुभयो । आफू ८२ वर्षमा टेक्दासम्म नेपाली साहित्यको उतारचढाव धेरै देखेको स्मरण गर्नुभयो । वरिष्ठ साहित्यकार तथा अध्यापक डा. गीता त्रिपाठीले मधुपर्क सम्मानले आफूलाई ऊर्जा मिलेको बताउनुभयो । गोरखापत्र संस्थान र मधुपर्क परिवारमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles