बनेपा, जेठ ३० गते । शुक्रबार दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रबिन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक गङ्गा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक दिनेश खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ नायब निरीक्षक टङ्क सिवाकोटी (सदस्य सचिव) र इलाका प्रहरी कार्यालय देविटारका प्रहरी हवलदार बासुदेव खड्का सदस्य हुनुहुन्छ ।

समितिलाई शुक्रबार दिउँसो भएको दुर्घटनाको सम्बन्धमा वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य–तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको छ । दुर्घटनामा चार महिला र चार पुरुष गरी आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको धुलिखेल अस्पतालले जनाएको छ । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 




