हेटौँडा, जेठ ३० गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह–आयोजनामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको व्यवस्थापनमा बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार सम्पन्न भएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षता तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यता भएको शिविरको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं, टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा हेटौँडा–४ सहित विभिन्न क्षेत्रका छ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा मुटुरोग, स्त्रीरोग तथा क्षयरोग सम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्स–रे, ईसीजी, इको परीक्षण, छातीको एक्स–रे, पीएफटी (दम परीक्षण), सुगर तथा लिपिड प्रोफाइल परीक्षण, महिलाको पाठेघर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान र निःशुल्क औषधि वितरण गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको भन्दै प्रदेश सरकार स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउन प्रतिवद्ध रहेको बताउनुभयो । स्वास्थ्य शिविरहरूले समयमै रोग पहिचान गरी उपचारमा सहजता ल्याउने तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उहाँको भनाई छ । वडाध्यक्ष नवीन सिग्देलले वडा कार्यालयले नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्नुभयो ।




