हेटौँडा, जेठ ३१ गते । बागमती प्रदेश सभाका सदस्य रामकृष्ण चित्रकारले हराएका ऐतिहासिक सामग्रीको खोजी गर्न माग गर्नुभएको छ।
बागमती प्रदेश सभाको आइतबार बसेको बैठकमा आकस्मिक समय लिएर धारणा राख्दै उहाँले सडकको नियमित मर्मत सम्भार गर्न र हराएका ऐतिहासिक सम्पदाहरूको खोजी गर्न माग गर्नुभएको हो ।
बैठकमा चित्रकारले ललितपुरको ग्वार्को–इमाडोल–पनौती सडक विस्तार बारे सरकारको ध्यानाकर्षण गराउँदै ग्वार्को–इमाडोल–सिद्धिपुर–लुभु–लाकुरी भञ्ज्याङ हुँदै पनौती र दालटारसम्म पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमा राखेको प्रति आपत्ति जनाउनुभयो। उहाँले उक्त सडक प्रदेश लोकमार्गको रुपमा कायम गरिराख्दा सडकको मापदण्ड अनुसार दायाँबायाँ ६२ मिटर चौडा हुने र यसले ग्वार्को, इमाडोल, लुभु लगायतका सबै शहरी बस्तीहरु भत्काउनु पर्ने स्थिति बन्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य चित्रकारले उक्त सडकलाई शहरी सडकमा रूपान्तरण गरी आन्दोलनको चरणमा पुगेका आम जनताको निराशा र आक्रोशलाई तत्काल सम्बोधन गर्न प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले रातो मच्छिन्द्रनाथको रथसँग सम्बन्धित हराएको पुरातात्त्विक सामग्रीको विषयमा सरकारले पहल गर्नुपर्ने भन्दै रातो मच्छिन्द्रनाथ रथको धःमाको दायाँबायाँ राखिने पुरातात्त्विक र सांस्कृतिक महत्वको सामग्री ‘मंगःहिटी नेपाः पाः’ हराएको महिनौँ भएपनि त्यसबारे सरकारको चासो नदेकिएको बताउनुभयो ।
उहाँले असार ६ गते भोटो देखाउने जात्रा हुँदैछ, तर अहिलेसम्म सो सामग्री फेला परेको छैन भन्दै प्रहरी प्रशासन, गुठी संस्थान र संस्कृति मन्त्रालयलाई यसबारे चाँडो अनुसन्धान गर्न माग गर्नुभयो ।




