हेटौँडा, असार २ गते । मकवानपुरको कैलाश गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत आईटी फोकल शिक्षकलाई पाँच दिने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । वडा नम्बर ९ मा अवस्थित कालिका माविमा वडाध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको तालिमको समापनमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले आजको युग प्रविधिको युग भएको भन्दै शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउन सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई शिक्षकहरूले आफ्नो दैनिक कक्षाकोठा शिक्षणमा प्रयोग गर्नुहुन आग्रह गर्दै उहाँले तालिम केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई सिकेका कुरालाई व्यवहारमा उतार्ने अवसर भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले शिक्षकहरुले प्रविधिलाई भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो । तालिमले अध्यापनसँगै विद्यालयमा हुने सिस्टमलाई प्रविधिमा जोडेर राख्न सहजता पुग्नुका साथै विद्यालयको प्रशासनिक र अध्यापनमा पनि सहज वातावरण पुग्ने उहाँको भनाई छ ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, आर्एटी विज्ञ प्रकाश पाठक, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, तालिम पश्चातको अनुभव कोथलिटार आविका प्रअ सीताराम श्रेष्ठलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
गाउँपालिकामा रहेका आधारभूत र माध्यामिक विद्यालयका ३९ जना आईटी फोकल शिक्षकको सहभागिता रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताउनुभयो ।




