हेटौँडा, असार ९ गते । हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव आयोजना हुने भएको छ । प्रदेश कृषि थोक बजार सञ्चालक समितिको आयोजनामा यही असार ११, १२ र १३ गते तीन दिवसीय ड्रागन महोत्सव हुने भएको हो । थोक बजार सञ्चालक समितिका कार्यकारी अधिकृत टिका प्रसाद काफ्लेले मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन मार्फत महोत्सवका विषयमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत काफ्लेले नवनिर्मित प्रदेश कृषि थोक बजारको शुभारम्भ तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ “उत्पादनदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट“ नारासहित महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

महोत्सवमा ड्रागन फ्रुटको प्रदर्शनी र बिक्रीसाथै ड्रागनको ताजा जुस, आइसक्रिम, सलाद, जाम लगायत अन्य उत्पादनको स्वाद लिन सकिनेछ । यस्तै ड्रागन फ्रुटको उन्नत बिरुवा, खेती गर्ने आधुनिक प्रविधि तथा प्राङ्गारिक मकलको प्रदर्शनी हुनेछ । साथै महोत्सवमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने कृषकलाई पुरस्कृत समेत गरिने जनाइएको छ । करिब ३० वटा स्टल रहने महोत्सव गर्मीका कारण बिहान ६ देखि ११ बजेसम्म र दिउसो ३ देखि ७ बजेसम्म सञ्चालन हुने काफ्लेले बताउनुभयो ।

मकवानपुरमा हाल व्यवसायीक रूपमै ड्रागन फ्रुटको खेती हुने गरेको छ । जिल्लामा हाल १० हजार केजी भन्दा बढी ड्रागन फ्रुटको उत्पादन हुने गरेको र प्रति किलो ३५० देखि ४०० का दरले बिक्री वितरण हुने गरेको छ । मकवानपुरमा उत्पादित ड्रागन फ्रुट हेटौँडासहित पोखरा, काठमाडौँ लगायतका शहरहरुमा समेत बिक्री हुने गरेको छ ।




