हेटौँडा, असार १० गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७२ करोड ७५ लाख २३ हजार १२० रुपियाँको बजेट ल्याएको छ ।
गाउँपालिकाको चौधौं गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले प्रस्तुत गर्नुभएको बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार (६०.३५ प्रतिशत) चालुतर्फ र २८ करोड ८५ लाख रुपियाँ (३९.६५ प्रतिशत) पुँजीगततर्फ विनियोजन गरिएको छ ।
बजेटको खर्च बेहोर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख, राजस्व बाँडफाँडबाट २२ करोड १९ लाख तथा आन्तरिक आय र गत वर्षको मौज्दात गरी आठ करोड ८३ लाख रुपियाँ रहेको छ ।
क्षेत्रगत रुपमा सामाजिक विकासमा ३२ करोड एक लाख ७८ हजार, पूर्वाधार विकासमा २३ करोड ३० लाख, आर्थिक विकासमा पाँच करोड ४५ लाख, संस्थागत विकास तथा सुशासनमा एक करोड तीन लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने, रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार तथा किसान परिचयपत्र कार्यक्रमलाई प्राथमिकता दिइएको छ । पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृंखला विकास, पशु बीमा, खोप तथा साइलेज उद्योग सञ्चालन गरिने उल्लेख छ ।
पर्यटन प्रवद्र्धनअन्तर्गत मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, हेलिग्राफ तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने भएको छ । होमस्टे, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गरिने नीति लिइनेभएको छ ।
शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, करियर मार्गदर्शन, छात्रवृत्ति तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ भने स्वास्थ्यतर्फ आधारभूत अस्पताल सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रण कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले खानेपानी बोर्ड गठन गरी खानेपानी उपभोक्ता समितिहरूलाई आबद्ध गराउने, सुरक्षित खानेपानी र ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिने नीति पनि अघि सारेको छ । साथै सूचना प्रविधिमा आधारित सेवा प्रवाह, डिजिटल नागरिक वडापत्र, अनलाइन अभिलेख तथा पारदर्शी प्रशासनलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले ‘समृद्ध मकवानपुरगढी, सुखी नागरिक’ को दीर्घकालीन लक्ष्यसहित स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै आत्मनिर्भर, प्रविधिमैत्री, हरित र समावेशी गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन र वातावरण संरक्षणलाई विकासका मुख्य आधारस्तम्भका रूपमा अघि बढाइने उल्लेख छ ।




