हेटौँडा, असार १० गते । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाको १९ औँ अधिवेशनको दोस्रो बैठकमा बुधबार उपाध्यक्ष सीता पुलामीमगरले चालु आर्थिक वर्षको तुलनामा १० करोड ८५ लाख रुपियाँ बढीको आयव्ययको अनुमान प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालु आवमा ८७ करोड ७२ लाख ३९ हजार रुपियाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आवको बजेटको सबैभन्दा ठूलो हिस्सा रहेको पूर्वाधार विकास क्षेत्रमा ३४ करोड ९१ लाख ६६ हजार रुपियाँ अर्थात् कुल बजेटको ३५.४२ प्रतिशत छुट्याएको छ । सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार (२८.५९ प्रतिशत), कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वका लागि १४ करोड ६६ लाख ७० हजार (१४.८८ प्रतिशत) र वित्तीय व्यवस्था, सुशासन तथा संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपियाँ (१४.०५ प्रतिशत) विनियोजन गरिएको छ ।
त्यसैगरी आर्थिक विकासतर्फ ५ करोड ३१ लाख १७ हजार र वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा १ करोड ६५ लाख रुपियाँ छुट्याइएको छ । विनियोजित बजेटमध्ये ३६.७८ प्रतिशत अर्थात् ३६ करोड २५ लाख पुँजीगत तथा ६३.२२ प्रतिशत अर्थात् ६२ करोड ३१ लाख रुपियाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ ।
आगामी आवमा दहत्तर–बहत्तर बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदानमार्फत ३६ करोड ८१ लाख तथा प्रदेश सरकारबाट समानीकरण, सवारी कर बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदान गरी ६ करोड २६ लाख ४१ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोत र बैंक मौज्दातबाट ४ करोड १५ लाख ७० हजार रुपियाँ व्यवस्थापन गर्ने लक्ष्य राखिएको उपाध्यक्ष पुलामीले बताउनुभयो ।
शिक्षा क्षेत्रमा २१ करोड १९ लाख रुपियाँ विनियोजन गरिएको छ । बालविकास शिक्षक, विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद तथा युवा–खेलकुद कार्यक्रम यसअन्तर्गत समेटिएका छन् ।
स्वास्थ्य क्षेत्रमा ४ करोड ८२ लाख ५० हजार रुपियाँ बजेट छुट्याइएको छ । क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलाइसिस तथा मेरुदण्ड पक्षघात भएका विपन्न बिरामीलाई मासिक उपचार सहयोग, स्वास्थ्य बीमा कार्यक्रम र शव वाहन खरिदजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
१ करोड ८१ लाख रुपियाँ विनियोजन गरिएको कृषि क्षेत्रमा आगामी आवमा कृषि औजार वितरण, उत्पादनमा आधारित अनुदान, शीतभण्डार भाडा अनुदान, बाली बीमा तथा भूमिहीन किसानका लागि जग्गा भाडा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पशुपन्छी विकासतर्फ २ करोड ३५ लाख तथा समग्र पूर्वाधार क्षेत्रमा संघीय, प्रदेश र स्थानीय स्रोतसमेत गरी ३४ करोड रुपियाँभन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको उपाध्यक्ष पुलामीले बताउनुभयो ।
रोजगार प्रवद्र्धनका लागि ४७ लाख १७ हजार, महिला विकासका लागि १७ लाख ५० हजार, बालबालिका क्षेत्रमा २७ लाख ५६ हजार तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि १ करोड १६ लाख ६२ हजार रुपियाँ विनियोजन गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दमकल खरिद, विपद् कोष सञ्चालन, डढेलो नियन्त्रण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। यसका लागि १ करोड १५ लाख रुपियाँ छुट्याइएको छ ।
उपाध्यक्ष पुलामीमगरले प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै समृद्ध मनहरी निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा गाउँसभा भएको थियो । बजेटमाथि छलफल गरी पारित गर्न गाउँसभाको अर्को बैठक असार १३ गते बोलाइएको छ ।




