बकैया गाउँपालिकाको बजेट ८९ करोड ५० लाख

लोकप्रिय

बकैया असार १० गते । मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८९ करोड ५० लाख ४४ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ।
बकैया गाउँपालिकाको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले आगामी आवको बजेट प्रस्तुत समृद्ध बकैया निर्माणको मूल आधार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ बजेट बनाइएको बताउनुभयो।

आगामी आवको लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये संघीय सरकारको वित्तीय समानीकरण, राजस्व बाँडफाँड र सशर्त अनुदानसहित कुल ४९ करोड ७३ लाख र बागमती प्रदेश सरकारको विभिन्न अनुदानहरूबाट कुल १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपियाँ रहेको छ। त्यसैगरी आन्तरिक स्रोततर्फ ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपियाँ र स्थानीय राजस्व बाँडफाँडतर्फ ५ करोड ५० लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ।
कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपियाँ अर्थात् ७१.४३ प्रतिशत र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपियाँ अर्थात् २८.५७ प्रतिशत खर्च प्रस्ताव गरिएको छ।

चालु आव २०८२/८३ का लागि विनियोजित बजेटको भौतिक प्रगतितर्फ समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्ममा गाउँपालिका स्तरमा ७० प्रतिशत भौतिक प्रगति हासिल भएको र असार मसान्तसम्म पुँजीगततर्फको बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने अनुमान गरिएको बताउनुभयो।
सामाजिक विकासतर्फ १० करोड ३३ लाख
सामाजिक विकासको क्षेत्रलाई आगामी आर्थिक वर्षमा विशेष प्राथमिकता दिँदै कुल बजेटको ३३।७० प्रतिशत अर्थात् १० करोड ३३ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ। त्यस्तै पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार रुपियाँ र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपियाँ विनियोजन गरिएको छ।
शिक्षाको गुणस्तर सुधार र विद्यालय भौतिक सुधारका लागि ४ करोड ३५ लाख रुपियाँ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्धनका लागि २ करोड ५६ लाख रुपियाँ विनियोजन गरिएको आगामी आवको बजेटमा उल्लेख छ। यसैगरी कृषिको व्यावसायिकरण र आधुनिकीकरण गरी गाउँपालिकालाई खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउन २ करोड २८ लाख रुपियाँ छुट्याइएको छ।

विभिन्न कोष व्यवस्थापन तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ आगामी आवका लागि ६ करोड ३५ लाख ७५ हजार रुपियाँ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६२ लाख ७५ हजार रुपियाँ विनियोजन गरिएको छ।
कर्मचारीको पारिश्रमिक वृद्धि
बजेटमार्फत गाउँ कार्यपालिकाको कार्यालयसँग करार सेवा सम्झौता गरी कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्न खाइपाइ आएको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ । उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था मिलाइएको छ। पूर्वाधार विकासका आयोजनाहरूमा नागरिकको अपनत्व र स्वामित्व बोध गराउन १० प्रतिशत लागत साझेदारीको नीति अवलम्बन गरिएको छ।
उपाध्यक्ष खत्रीले सीमित स्रोत र साधनबाट समग्र बकैयावासीको चाहना र विकासलाई सम्बोधन गर्न यो बजेट चुनौतीपूर्ण रहे पनि जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र कर्मचारीहरूको सहयोगमा यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्णयार्थ गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले प्रस्तुत गर्नुभएको गाउँसभाले पारित गरेको छ ।

ताजा समाचार

Related Articles