काठमाडौँ, असार १२ गते । आज दिउसो १ बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनुभएको छ ।

संघीय संसद् सचिवालयले आजै दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सी आइतबार बिहान ११ बजेका लागि तोकिएको छ । यसअघि आजै महासचिव पाण्डेले प्रतिनिधिसभाको बैठक भोलि शनिबार ११ बजेसम्मका लागि स्थगित गरिएको सूचना जारी गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो । यसअघि पनि हिजो असार ११ गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो ।




