उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुनेछ

लोकप्रिय

वीरगन्ज, असोज १३ गते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१ औँ वर्षको अवसरमा आयोजना गरेको समारोहमा उहाँले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडा रूपमा प्रस्तुत हुने बताउनुभयो ।

वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वास्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले काठमाडौँको वीर अस्पतालसँगै वीरगन्जको नारायणी अस्पताल निर्माण भए पनि सरकारी उदासीनताका कारण नारायणी अस्पतालले जनशक्ति र उपकरण अभावसँगै सरसफाइको समस्या भोग्दै आएको उल्लेख गर्दै तत्काल नारायणी अस्पतालमा दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न माग गर्दै अस्पतालको सेवामा सुधार ल्याउन आफ्नो संसदीय कोषबाट बजेट उपलब्ध गराउने घोषणा गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवानले नारायणी अस्पतालको अलपत्र परेको पाँच सय शय्याको अस्पताल भवन निर्माणको काममा देखिएका बाधा फुकाएर तत्काल निर्माण कार्य अघि बढाउन आग्रह गर्नुभयो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले हाल तीन सय ५० शय्याको अस्पतालसँगै आइसियु, डाइलायसिस लगायत सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न ठाउँसहित छिमेकी मुलुक भारतबाट समेत आउने दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीलाई ओपिडी सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै प्रमुख मेसु डा साहले भौतिक संरचनाको अभाव र दरबन्दी अनुसारको जनशक्ति नहुँदा उपचार गर्न समस्या भइरहेको बताउनुभयो ।

त्यस अवसरमा स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै वरिष्ठ चिकित्सक डा रामअवतार खेतान, डा गोपालप्रसाद गजुरेल र राधाकृष्ण ज्ञवालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles