हेटौँडा, साउन ८ गते । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौँडा औद्योगिक क्षेत्र, शैक्षिक सस्थाहरुको अवलोकन भ्रमणसँगै बागमती प्रदेश सरकारको गतिविधिका बारेमा जानकारी लिनुभएको छ ।
इजरायल र बागमती प्रदेश सरकारबिच कृषि, प्रविधि तथा संस्थागत साझेदारीका सम्भावित क्षेत्रहरूको पहिचान र खोजी गर्ने उद्देश्यले राजदूत बास धर्मपत्नीसहित दुई दिने भ्रमणका क्रममा शुक्रबार हेटौँडा आउनुभएको हो ।
मकवानपुर जिल्लाकोे दुई दिने भ्रमणका क्रममा शुक्रबार हेटौँडा आइपुग्नुभएका बास र बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँबिच शिष्टाचार भेट एवं छलफलका क्रममा मुख्यमन्त्री बानियाँले इजरायली राजदूत बासको भ्रमणले इजरायल र नेपालबिचको सहयोगको क्षेत्र विस्तारमा थप सहयोग पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले जरायलसँग बागमती प्रदेश सरकारले समन्वय र सहकार्यमा काम गर्न ईच्छुक र तयार रहेको बताउनुभयो ।
नेपालका लागि इजरायलका राजदूत बासले राजदूत बासले नेपालबाट सबै विदेश जानुभन्दा सो विदेश जान्छ उसबाट प्रविधि, ज्ञान र सिप आफ्नो गाउँ समाजमा हस्तान्तरण, यसमार्फत विकास गर्नुपर्ने र यसमा सहयोग र सहकार्य गर्न इजरायल तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो इजरायल गएर आएकाहरुले ज्ञान र सिप हस्तान्तरण गरी टनेल खेतीबाट लाभ लिइरहेको पाउँदा आफूलाई खुशी लाग्यो ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नागरिकलाई उत्पादनसँग जोड्ने गरी प्रदेश सरकारले लगानी गर्दै आएको भन्दै प्रदेश सरकारले इजरायल सरकारसँग मिलेर काम गर्न चाहेको बताउनुभयो ।
सो अवसरमा प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठ प्रदेशभित्रको कृषिको अवस्था र प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले परिषदका बारेमा जानकारी गराउनुभएको थियो ।
राजदूत बासले हेटौँडा औद्योगिक क्षेत्रसँगै एसियन पेन्ट्स, एन्टार्टिक विस्कुट उद्योग र एसटिसी इनर्जी इन्डष्ट्री प्रालिको अवलोकन निरीक्षण गर्नुभएको थियो । सो अवसरमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे लगायतको सहभागिता रहेको थियो ।
साथै शनिबार मार्खुस्थित मानव निर्मित कुलेखानी जलाशय र चित्लाङको भेडा फार्मको अवलोकन भ्रमण गर्ने गरी कार्यक्रम तय गरिएको छ ।




