मौरिज हर्जोग पदमार्गमा पर्यटक बढे

लोकप्रिय

म्याग्दी, असोज १९ गते ।

मौरिज हर्जोग पदमार्गमार्फत आठ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् ।

समुन्द्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्मको पदमार्ग सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको त्यहाँ पुगेका पर्यटक बताउँछन् ।

प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर तयार पदमार्ग सुरक्षित भएकोले पछिल्लो समय घुम्न आउने पर्यटक बढेको अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रय स्थल लगायतका पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायी समेत यस क्षेत्रको प्रवर्द्धनमा जुटेका छन् ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरेका थिए । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण कार्य सकिएको छ भने ठाउँ ठाउँमा झोलुङ्गे पुल निर्माण भएको छ । पदमार्गअन्तर्गत आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, सन्धिखर्क, हुमखोला र छोटेपामा आश्रय स्थल निर्माण भइसकेका छन् ।

पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको छ । वरिपरि अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराह शिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ । हिमालको फेदीमा रहेको विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण मानिन्छ । यस पदमार्गमा पञ्च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेको देखिने आकासे गुफा समेत पर्यटकले देख्न पाउँछन् ।

हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसका रुपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको गुराँसको फूल पदमार्गको दायाँबायाँ पर्यटकले देख्न पाउँछन् । पदमार्गमा लौठसल्ला, भोजपत्रका हिमाली रुख बिरुवासँगै यार्सागुम्बा लगायतका जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाल लगायतका वन्यजन्तु र पंक्षीहरुहरुलाई समेत अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी तेज गुरुङ बताउनुभयो । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्न सकिन्छ ।

अन्नपूर्ण हिमालको आधार शिविर पुग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा देशका विभिन्न ठाउँबाट अवलोकन र भ्रमणको लागि आउनेहरू बढेका छन् । आधार शिविर क्षेत्रमा होटल, खानेपानी, सञ्चार र शौचालयको अभाव छ ।

यस पदमार्गको हुमखोलासम्म सामान्य होटल रहे पनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि होटल सुविधा छैन । होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकले खाना र बसोबासको बन्दोबस्तको सामग्री आफैँ बोकेर लैजानुपर्छ ।

ताजा समाचार

Related Articles