मानव सेवा आश्रमको भवन निर्माणमा दाताकै भर

लोकप्रिय

हेटौँडा, पुस १७ गते ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई आश्रय दिँदै आएको मानवसेवा आश्रमको हेटौँडा उपमहानगरपालिका ९ मा मुख्य कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय भवन साढे ११ करोड रुपियाँभन्दा बढीको लागतमा दाताहरुको सहयोगमा निर्माण गरिएको हो ।
सडक, पेटीमा आश्रय लिईरहेकाहरुलाई सुरुवाती चरणमा भाडाको घरमा आश्रय दिँदै आएको सरकारी निकायसहित दाताको सहयोगमा २०७१ सालबाट निर्माण सुरु गरिएको थियो ।
२०७६ सालबाट भाडाको घर छाडेर बन्दै गरेको भवनमा आश्रय दिन थालेकोमा अहिले भने भवन निर्माणले पूर्णता पाएको मानवसेवा आश्रम मुख्य कार्यालय, हेटौँडाका वित्त विभाग प्रमुख अस्मिन गौतमले जानकारी दिनुभयो ।
१२ विगाहा क्षेत्रफलमा रहेको आश्रम परिसरमा मुख्य कार्यालयको सचिवालय, कार्यक्रम हल, आमा भवन, गौशाला, पार्किङ स्थल, मनोरञ्जनस्थल, नर्सरीलगायतको व्यवस्था गरिएको छ । साथै आश्रम परिसरमा आश्रितहरुका लागि तरकारीलगायतका खाद्यान्न उत्पादनका जग्गा व्यवस्थापन गरी आन्तरिक रुपमा खपत हुने बस्तु उत्पादनसमेत गरिँदै आएको आश्रमले जनाएको छ ।
वित्त विभाग प्रमुख गौतमका अनुसार मुख्य कार्यालय भवन निर्माणमा ११ करोड ५१ लाख ८६ हजार ९६६ रुपियाँ र फर्निसिङतर्फ दुई करोड ४३ लाख ७४ हजार १५० रुपियाँ गरी १३ करोड ९५ लाख ६१ हजार ११६ रुपियाँ खर्चभएको छ ।
खर्चभएको मध्ये सरकारी निकायको सहयोग एक करोड १७ लाख ७३ हजार ५७० र जनस्तरबाट प्राप्त सहयोग ११ करोड ९१ लख २६ हजार ९८० रुपियाँ प्राप्त भएको छ ।
भुक्तानी गर्न ८६ लाख ६० हजार ५८६ रुपियाँ बाँकी रहेको जनाइएको छ ।
आश्रमको भवन निर्माणमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाले ४४ लाख ८२ हजार ५७ रुपियाँ, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ४० लाख रुपियाँ र तत्कालीन जिल्ला विकास समितिले १९ लाख ६९ हजार छ रुपियाँ सहयोग गरेको छ ।
देशका विभिन्न जिल्लामा शाखा रहेको मानव सेवा आश्रमको १४ जिल्लामा आफ्नै भवन निर्माणाधीन रहेको छ ।
साथै चितवन, बुटवल र पोखरामा भवन निर्माण गरी आश्रितलाई राखिी सञ्चालन सुरु गरिएको र गोरखा जिल्लामा निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । आश्रमको गत मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles