हेटौँडा, फागुन २१ गते ।
मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगर पालिका ३ स्थित प्रहरी चौकी बसामाडी अगाडि सडकखण्डबाट विष्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बस्तीपुरबाट हेटौँडा बजारतर्फ आउदै गरेको ना ८ ख. ४२१४ नं. को यात्रुबाहक बसमा सवार हेटौँडा उपमहानगरपालिका १९ बस्ने वर्ष ४३ को अमृत घलानलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घलानले बोकेको झोला भित्र लुकाई राखी ल्याएको अवस्थामा ९० प्रिमाइर ३२ एमएम एक्स्प्लोसिभ क्लास २ लेखिएको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान एक, नियोजेल–९०१ र क्याप सेन्सेटिभ एमुल्सन एक्स्प्लोसिभ लेखिएको सुन्तला रङ्गको प्लाष्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यस्तै बिष्फोटक पदार्थ सेतो गिलो पदार्थ थान दुई, सुन्तला रङ्गको प्लास्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान तीन, कालो रङ्गको टेपले बेरी राखेको सेतो रङ्गको तार जोडेको विद्युतीय डेटोनेटर थान छ र कालो टेपले बेरी रातो सेतो रङ्गको तार जोडेको विद्युतीय डेटोनेटर थान २० गरी गरी ३३ थान बरामद गरिएको छ । यसै गरी निजको साथबाट तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर थान १४, डेटकोर्ड जस्तो देखिने रङगको तार तीन फिट छ ईन्चको एक थान, तीन फिट आठ ईन्चको एक थान गरी दुई थान उक्त विष्फोटक पदार्थ फेला परेको छ ।
विष्फोटक पदार्थसहित घलानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा चार दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।




