टोनी हेगनको सालिक स्थापना

लोकप्रिय

हेटौँडा, फागुन २१ गते ।
हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा स्विस भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको सालिकसहितको टोनी हेगन स्मृति पार्क निर्माण गरिएको छ ।
हेगनको सालिकको मङ्गलबार एक कार्यक्रमका बिच अनावरण गरियो ।
सालिकको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, पूर्व प्रमुख हरिबहादुर महत र डा. टोनी हेगनकी छोरी डा. क्याट्रिन हेगनले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चले निर्माण गरेको उक्त पार्कमा बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिकालगायतका सरकारी तथा गैरसरकारी क्षेत्र र दाताको सहयोग रहेको मञ्चका अध्यक्ष इन्द्र नेपालले जानकारी दिनुभयो । पार्क निर्माणमा दुई करोड नौ लाख ८१ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पार्कमा फल्चा, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा ध्यान योग केन्द्र, बगैँचा, आकर्षक प्रवेश द्वार, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको छ ।
सालिक अनावरण कार्यक्रममा नगरप्रमुख लामा, पूर्व नगरप्रमुख महतलगायतले नेपाललाई विश्वसामु पहिचान दिलाउने स्विस नागरिक हेगनको सम्झनामा पार्क र अर्धकदको सालिक निर्माण गरिएको बताउनुभयो ।
एक बिगाह चार कठ्ठा साढे १७ क्षेत्रफलमा फैलिएको पार्क निर्माणको गुरुयोजना अनुरुप काम भईरहेको छ । पार्क परिसरमा नै तामाङ सङ्ग्रहालय र ढुङ्गेधारा निर्माणाधीन रहेको छ । पार्क परिसरमा बाल उद्यान, खुला चौर, पार्किङस्थल, कोशेलीघरलगायतका संरचनाहरु निर्माण गर्नेसमेत योजना रहेको पार्क विकास मञ्चका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles