राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ

लोकप्रिय

महोत्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँतने सपना नेदेख्न आग्रह गर्दै मुलुकमा अब अराजकता, बलमिच्याँइ र जालझेल नचल्ने बताउनु भएको छ।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको  प्रधानमन्त्रीको भनाई छ ।
उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।”
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताउनुभयो । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर  देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।  उहाँले भन्नुभयो, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।”

ताजा समाचार

Related Articles