हेटौँडा, असार २० गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको बजेट प्रदेश सभाबाट पारित भएको छ।

शनिबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक बहुमतले २०८३ र आर्थिक विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको हो। विनियोजन विधेयक र आर्थिक विधेयक,प्रदेश सभाबाट पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट आगामी साउन १ गतेबाट कार्यान्यवयन गर्न बाटो खुलेको छ ।

यसअघि विनियोजन विधेयक २०८३ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ माथिको छलफलमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
मन्त्रालयगत शीर्षकमा उठेको प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलगायतका मन्त्रीहरुले जवाफ दिनुभएको थियो ।
यस्तै प्रदेश सभाका सदस्यहरु ईश्वर सापकोटा, सिर्जना सायजु र रत्नप्रसाद ढकालले राख्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो। उक्त बजेटमाथि असार १६ गतेदेखि प्रदेश सभामा छलफल हुँदै आएको थियो।




