राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण

लोकप्रिय

काठमाडौँ, असार २० गते ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । उहाँहरुले मुलुकका विभिन्न राजमार्ग तथा सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गर्नुभयो ।

सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुग्लिन–नारायणगढ–काठमाडौं, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ हुने गरेको गर्नुभयो ।उहाँले बर्सेनि दोहोरिने सडक अवरोधको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डिएपी महँगो मूल्यमा खरिद गरेको हो कि ? भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गर्नुभयो । सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरुद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद सुरेशकुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै आजको बैठकमा आफूले कुनै जिज्ञासा नराखेको बताउनुभयो ।

ताजा समाचार

Related Articles