मकवानपुर, असार २० गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट जनमुखी, गरिबमुखी र आयसँग जोडिएर आएको बताउनुभएको छ । आर्थिक वर्ष २०८३/०८३ को विनियोजन विधेयकमाथिको छलफलको क्रममा मुख्यमन्त्री कार्यालयलगायतका कार्यालयहरुको बारेमा उठेको प्रश्नको प्रदेश सभाको शनिबार बसेको प्रदेश सभा बैठकमा जवाफ दिँदै उहाँले बजेट न्यायमुखी र सबैलाई समेटेर ल्याइएको बताउनुभयो ।

उहाँले पारदर्शी, जवाफदेही र प्रदेश सभा प्रति उत्तरदायी भएर बजेट आएको भन्दै बजेट नीति तथा कार्यक्रममा आधारित रहेको बताउनुभयो । बजेट कार्यान्वय फितलो हुने छैन, साउन लागेसँगै कार्यान्वयनमा जान्छ मुख्यमन्त्री बानियाँले भन्नुभयो, बजेट कार्यान्वयन प्रति शङ्का नगर्नुस् द्रुतगतिमा हुन्छ । उहाँले भन्नुभयो, “अब वर्षामा होइन हिउँदमानै विकास गर्ने हो ।”

मुख्यमन्त्री बानियाँले सङ्घीय शासन व्यवस्था यो गरिबको व्यवस्था हो, सबैको विचारलाई सुन्ने, विचारको सम्मान गर्ने हो कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने र सङ्घीय लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो भन्दै सङ्घीय लोकतान्त्रिक व्यवस्था गरिबको व्यवस्था भएको बताउनुभयो । गरिबलाई कसरी गरी खाने बनाउन सकिन्छ, गरिबलाई गास, बास र कपासको कसरी व्यवस्था गर्न सकिन्छ, हामीले राजनीति त्यसैको लागि गरेको हो ।

तीन तहको सरकारमा प्रदेश बोझिलो भयो भारी भयो, भन्ने पनि छ तर प्रदेश पहिचान हो, प्रतिस्पर्धा हो, भूगोलको हो, जातजातिको हो, नेतृत्वको हो, यसले जनतालाई विकाससँग जोड्ने माध्यम हो । सङ्घले नीति बनाउँछ, प्रदेशले विकास गर्छ, स्थानीयले सेवा दिन्छ । यसलाई चुस्तदुरुस्त बनाउनुपर्छ उहाँको भनाइ छ ।

उहाँले एक हजार विपन्न परिवारलाई घर बनाउने, प्रविधि सिकाउने, बिउ पुँजी दिएर गरिखान सिकाउने, गरिब र विपन्न र दलितलाई अहिलेको बजेटले समेटेको पूर्वाधार, कृषि उद्योग र पर्यटन प्रवर्धनका कार्यक्रम मुख्यमन्त्रीले संयोजन गर्ने गरी आगामी आवको कार्यक्रम बजटे ल्याइएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले गरिब, विपन्न र ग्रामीण क्षेत्रका बासिन्दाको शिक्षामा पहुँच नपुगेकोले पहुँच विस्तारका लागि कार्यक्रम प्रविधिसँग जोडेर ल्याइएको बताउनुभयो ।

उता आगामी आवको बजेटप्रति सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ । कांग्रेसमा बजेटप्रति असन्तुष्टिसँगै छलफलमा कांग्रेसका प्रदेश सभा सदस्यहरु अनुपस्थित रहेका थिए । पूर्व मुख्यमन्त्री बहादुर सिंह लामासहितका प्रदेश सभाका सदस्यहरुले बजेटप्रति असन्तुष्ट बनेपछि सहजीकरणका लागि कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई हेटौँडा बोलाइएको थियो ।

घिमिरेको उपस्थितिमा शनिबार भएको संसदीय दलको बैठकमा बजेटलाई एकमत भएर पारित गर्ने र सरकारका बारेमा पछि माथि छलफल गर्ने सहमति गरिएको थियो ।




