हेटौँडा, चैत १ गते। मकवानपुरको थाहा नगरपालिका हावाहुरीका कारण विभिन्न वडामा गरी ८६ वटा घरगोठमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ।
असिना पानीसहित बिहीबार साँझ आएको हावाहुरीका कारण घरगोठसहित तरकारी खेतीको लागि बनाएको टनेलमा क्षति पुगेको छ।
हावाहुरीबाट भएको क्षति, राहत र उद्धारका बारेमा छलफल गर्न शुक्रबार बसेको थाहा नगर विपद व्यवस्थापन समितिको बसेको आकस्मिक बैठकले प्रतिपरिवार ३० हजार रुपियाँसम्म राहत रकम उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेका थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले जानकारी दिनुभयो।
दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले हावाहुरीबाट घरगोठ क्षतिभएका परिवारलाई तत्कालका लागि राहत स्वरुप दामन रेडक्रस, जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा ६० थान त्रिपाल उपलब्ध गराइएको बताउनुभयो।
हावाहुरीका कारण थाहा नगरको घर्तीखोला, डाँडागाउँ, धारापानीलगायतका स्थानका घरगोठको छानो उडाएपछि स्थानीय समस्यामा परेका छन्।
थाहा नगर कृषि शाखा हावाहुरीसँगै आएको असिनाका कारण टनेल र खेतीपातिमा समेत गरी लाखौँको क्षति पुगेको छ। कृषि शाखाका प्राविधिकबाट कृषिबालीमा पु¥याएको क्षतिको लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।