लोकतन्त्र र गणतन्त्रको विकल्प छैन

लोकप्रिय

पोखरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशमा लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले देशमा विभिन्न तत्त्वहरू जति नै सलबलाए पनि लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको दाबी गर्नु भएको हो ।
पूर्व राजावादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यवस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने विरुद्ध सबै एक हुनु पर्नेमा जोड दिनुभयो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी भन्दा पहिलाको पुस्ताले धेरै ठुलो त्याग र बलिदान गरेको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । हाम्रो पुस्ताले पनि धेरै ठुलो योगदान दिएको दिएको गृहमन्त्री लेखकको तर्क थियो ।
लोकतन्त्रले नागरिकलाई सर्वोपरि बनाएको बताउँदै उहाँले सरकारसँग चित्त नबुझे बिरोध गर्न पाइने जना उदै संविधानको व्यवस्थाको विरुद्ध हिंसात्मक गतिविधिले देशलाई झन अस्थिरता तर्फ लैजाने हुँदा त्यस्ता गतिविधि गर्नेलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “ यो देशमा राजतन्त्र गएको १८ बर्ष भएको छ, १८ बर्ष पछिको पुस्ताले राजतन्त्रको बारेमा बुझ्नै सकेन, त्यसको पनि २८ देखि ३० वर्षका जनताले राजतन्त्रको अनुभूति गर्न सकेन त्यस कारण राजतन्त्र कस्तो हुन्छ भन्ने अहिलेको युवा पुस्तालाई थाहा छैन, त्यो कुरा हामीले बुझाउन जरुरी छ ।” काम गर्ने क्रममा कमीकमजोरी भएको अवस्थामा सुधार गर्दै जाने गृहमन्त्री लेखकले बताउनुभयो । लोकतन्त्रको पक्षमा पत्रकारहरू समेत उभिन आग्रह गर्दै उहाँले यदि लोकतन्त्र र गणतन्त्र नहुँदा त्यसको पहिलो मार मिडियाकर्मी र मिडिया माथि हुने उहाँको भनाई थियो ।
२०१२ सालको नेपाल प्रहरी ऐन भएकोले प्रदेश प्रहरीको बारेमा समेत खासै नखुलेकोले प्रहरी ऐन संशोधन गर्न लागिएको उहाँले बताउनु भयो । प्रहरी समायोजनको बारेमा धेरै बाेले पनि कानुनी व्यवस्था नभएकोले प्रहरी ऐन संशोधन गर्न लागेको गृहमन्त्री लेखकले जनाउनुभयो । ७ दशकमा नेपालमा ७ पटक संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यसबाट देशमा धेरै अस्थिरता भएको जनाउनुभयो ।
आमाको नामबाट समेत नागरिकता दिने प्रक्रिया अघि बढे पनि कानुनी झन्झटले गर्दा नसकिएको उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानुनी व्यवस्था मिलाउने जनाउनुभयो ।

 

ताजा समाचार

Related Articles