सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सुकुटेलाई १५ बुँदे गुरु योजनासहित पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले आज एक कार्यक्रमका बिच पर्यटकीय क्षेत्र घोषणा गरेको हो । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय हबको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालीन गुरु योजनासहित दिशानिर्देश गर्ने १५ बुँदे पत्र पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले उद्घाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । सिन्धुपाल्चोकमा पर्यटनको प्रचुर सम्भावना भए पनि दूर दृष्टि र सम्भावनाको खोजी गर्नुपर्ने उहाँको तर्क छ ।
पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषण गरेसँगै सिङ्गो सिन्धुपाल्चोक जिल्लालाई पर्यटकीय क्षेत्र घोषणा गर्न बाटो खुल्ने बताउनुभयो ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने काम गौरवको विषय भएको बताउनुभयो ।
नगरपालिकाले सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले २०७६ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीसँग नगरपालिकाको छलफल, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको संयोजनमा २०८१ मा भएको राष्ट्रिय विच भलिबल प्रतियोगितामा भएका निचोडहरूलाई समेत आधार मानी यो निर्णय गरिएको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्ने, सुकुटेमा कृषि सङ्कलन केन्द्र निर्माण गरी र आसपासका क्षेत्रका कृषिजन्य वस्तु सङ्कलन गरी कृषकका उत्पादन सङ्कलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइने, नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियानसहित जैविक विविधता र पर्यावरण संरक्षण गरिने र निश्चित क्षेत्रलाई र्याफटिङ जोनको रुपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिने, सुकुटे क्षेत्रलाई जल बिहारको हब बनाउने लगायतका विभिन्न उद्देश्यहरू घोषणापत्रमा उल्लेख गरिएको छ ।