चित्लाङमा जिल्लास्तरीय भलिवल सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ८ गते ।
नव वर्ष २०८२ र लोकतन्त्र दिवशको अवसरमा मकवानपुरको चित्लाङमा आयोजना गरिएको जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिता सुरुभएको छ ।
साविक चित्लाङ गाविस गाउँ इकाई समिति नेपाली कांग्रेसका सभापति शालिकराम मानन्धर र उप–सभापति तेजबहादुर के.सी.को स्मृतिमा हुने नेपाली कांग्रेस थाहा नगरपालिका ९ नं. वडा समितिको आयोजना र कांग्रेस थाहा नगरपालिका वडा नं. १० वडा समितिको समन्वयमा भएको प्रतियोगिताको सोमबार नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य जयराम लामिछानेले उद्घाटन गर्नुभएको थियो ।
कांग्रेस थाहा नगरपालिका ९ नं. वडा समितिका उपसभापति बुद्धिबहादुर बलामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कांग्रेस थाहा नगर समितिका सभापति प्रमोदकृष्ण जोशी, थाहा नगरपालिकाका वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, शिवराज थिङ, सीतारामा स्याङ्तान, राजकुमार बलामीलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा सो अवसरमा छहारी युवा सेवा समाज हेटौँडा उपमहानगरपालिका ११ र आयोजक बी टिमबिच मैत्रीपूर्ण भलिवल प्रतियोगिताभएको प्रतियोगिता आयोजक समितिका सहसंयोजक दीपक गोपालीले जानकारी दिनुभयो ।
यही वैशाख ११ गतेसम्म जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिता थाहा नगरपालिका ९ चित्लाङस्थित माझगाउँस्थित खेल मैदानमा हुनेभएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ७५ हजार रुपियाँ शिल्ड,मेडल र प्रमाण– पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका उपसंयोजक दीपक गोपालीले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा द्वितीय हुने टिमले ४५ हजार र तृतीय हुने टिमले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ।
प्रतियोगिताका लागि कांग्रेस नेता जयराम लामिछानेले एक लाख ११ हजार १११ रुपियाँ, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले सहयोग गर्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles