खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ स्थित गैरीगाउँमा सडक भासिएर गाडी बेपत्ता भएको छ ।
गाडी दलदल गाडिए बेपत्ताभएको २४ घण्टा पुग्दासमेत फेला पर्न सकेको छैन ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी अचानक चिप्लिन गई शुक्रबार दिउँसोबाट जमिनमा भासिएर बेपत्ताभएको हो ।
भित्री कच्ची सडकखण्डमा सडक नजिकै माछापालनको लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बलेरो गाडी डुबेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले उक्त स्थानबाट गाडी झिक्न बिहानैदेखि प्रयास भएपनि सफल नभएको भन्दै अझै गाडी कहाँ छ भनेर पत्ता लगाउनै नसकेको जानकारी दिनुभयो ।
पानी तानेर बाहिर फाल्नको लागि दुई वटा मोटर पम्प प्रयोग गरिएको छ, पानीको सतह घटेको भएतापनि सवारी साधन हालसम्म देखिएको छैन उहाँले भन्नुभयो, खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन् ठुलो हुँदै गएको छ । उहाँले अगाडि भन्नुभयो, सवारी साधन खोजी कार्य जारी रहेको ।
बलेरो चालक र सहचालक भने भासिनुअघि नै निस्किएर सकुशल रहेका छन् ।
गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र स्थानीयले बोरिङ समेत गरेका कारण जमिन भासिन पुगेको जनाइएको छ ।
