मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि तीव्रता दिन निर्देशन

लोकप्रिय

काठमाडौँ, वैशाख २१ गते ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक सम्पन्‍न भएको छ।
बैठकले विगतमा भएका मनसुनजन्य विपद्‌का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ।
त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९ र १० का बस्तीहरुलाई संरक्षण गर्न ती क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
बैठकका क्रममा गृह मन्त्री रमेश लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परेका नागरिकलाई उद्धारको लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापनमा पुर्‍याएको विशेष योगदानको उच्च कदर गर्दै निजको जीवन संगीनी सुजी कुँवरलाई मरणोपरान्त सम्मान पत्र प्रदान गर्नु भयो।
बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चात्‌को पुनर्लाभ (पुनर्निर्माण तथा पुनर्स्थापना) योजना (२०८१र०८२(२०८३र०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशन समेत दिएको छ।

ताजा समाचार

Related Articles