काठमाडौँ, वैशाख २१ गते ।
गृहमन्त्री रमेश लेखकले गृहमन्त्री लेखकले नेतृत्व विकासका लागि क्षमता, सीप, व्यावसायिकता, इमानदारीता र प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित पोलिस लिडरसिप एण्ड स्टाफ कोर्सको उद्घाटन कार्यक्रम उहाँले यस्तो बताउनु भएको छ ।
गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको एवम् राष्ट्रको सेवामा समर्पित नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकामा आधुनिकीकरणको शुभारम्भ भएको उल्लेख गर्दै आजको क्षण प्रहरी संगठनको लागि एउटा ऐतिहासिक उपलब्धी भएको चर्चा गर्नुभयो ।
गृहमन्त्री लेखकले अहिलेको विश्वव्यापीकरण र सामाजिक रूपान्तरणले विभिन्न चुनौति, जोखिम र खतराहरू थपिरहेको अवस्थामा परम्परागत पद्धतिले भन्दा पनि यस कोर्सले ती चुनौतिहरूको पहिचान गरी समाधान गर्न सक्षम हुने र प्रहरी संगठनलाई थप मजबुद बनाउन फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले भावी नेतृत्व विकासमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै यस कोर्स मार्फत समाजमा देखा परेका आधुनिक चुनौतिहरूको सामना गर्न दक्ष एवम् क्षमतावान् प्रहरी अधिकृतहरू तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरीले विशेष गरी आर्टिफिसिएल इन्टिलिजेन्स र उन्नत प्रविधिहरूबाट प्रभावित चुनौतिहरूको समाना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न हाम्रो नेतृत्व ज्ञान, सीप, निष्ठा र व्यावसायिकता पनि उच्चस्तरको हुनुपर्नेमा जोड दिनुभयो । साथै यस्ता चुनौतिको सामना गर्न सक्षम एवम् भावी नेतृत्व तयार गर्न यो कोर्स तयार गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसे, प्रहरी वरिष्ठ उपरीक्षक बेद विष्टले बोल्नुभएको थियो ।




